Menu

ढिलोगरी पढेको पल्पसा क्याफे


  7th January, 2016

अञ्जली खनाल

ढिलोगरी पढेको पल्पसा क्याफे


‘पल्पसा क्याफे’ बाबाले पुस्तक ल्याइदिएको दिन किताबको नामसम्म पढेकी थिएँ । सोचेँ, कुनै अल्छी लाग्ने किताब ल्याइदिनुभयो होला । तैपनि, बाबाले पढी त हेर भनेर कर गर्नुभएपछि उहाँको मन राख्नैका लागि पनि मन नलागी नलागी पाना पल्टाएँ । पाना १, २, ३ हुँदै म बिस्तारै त्यहाँका अक्षर, शब्द र वाक्यमा हराउँदै गएँ । कक्षा ११ को दोस्रो त्रैमासिक परीक्षा नजिकै थियो । कोर्सका किताब त पढ्नु नै थियो, तर मेरो मन भने दृश्य र पल्पसाबीचका रमाइला संवाद र पल्पसा क्याफेको प्लटले चोरेका थिए । बाबाले अब जाँच सकेपछि पढ भन्नुभएपछि जहाँ पुगेकी थिएँ, त्यहीँ चिनो लगाएर पुस्तक बन्द गरिदिएँ ।
नेपाली विषयको परीक्षाको अघिल्लो दिन मनमा एक्कासि कौतुहल जागा भयो, दृश्य र पल्पसालाई सम्झिएँ । ती दुई कहाँ के गर्दै होलान् भन्ने कौतुहलले मलाई बारम्बार झकझाइरह्यो । भोलिपल्टको परीक्षा, नेपाली विषयको पुस्तक थन्काएँ पल्पसा क्याफे निकालेँ । दृश्य र पल्पसाका संवादमा यति डुबेछु कि उनीहरू आफ्नै सामुन्ने बसेर जिस्किरहेछन् जस्तो आभाष भइरहेको थियो । मैले अहिलेसम्म जति उपन्यास, कथा, निबन्ध या अन्य कुनै किताब पढेकी छु, ती सबैमध्ये यो पल्पसा क्याफे नै उत्कृष्ट लाग्यो । नारायण वाग्लेको नाम मैले एक पत्रकारका रूपमा सुनेकी थिएँ । उनको कुनै पनि पुस्तक मैले पढेकी थिइनँ । तर, पल्पसा क्याफेमा उनको शैली हेर्दा, वाक्यगठन पढ्दा र कथाको बुनोट हेर्दा म त कायल भएँ । पल्पसा क्याफे पढुन्जेल मलाई कुनै वास्तविक जीवन देखिरहेझैँ लागिरह्यो ।
किताबको नाम देख्दा मलाई लागेको थियो, कुनै पल्पसा नाम गरेकी नारी पात्रले कुनै क्याफे खोली होला र पल्पासा क्याफे नाम राखियो होला । तर, बिचरी मलाई के थाहा कि यसको नामको पछाडि कस्तो कारण लुकेको छ भन्ने । सानैदेखि कुनै न कुनै माध्यमबाट जनयुद्धको बारेमा केही न केही सुन्दै आएकी थिएँ । कहिले पत्रपत्रिकाबाट त कहिले रेडियो, टिभीबाट, कहिले आफन्तहरूका मुखबाट जनयुद्ध नामको द्वन्द्वकालमा कति मानिस मारिए, कति घाइते भए, कति विस्थापित भए, सुन्दै आएकी थिएँ । राजनीतिको छेउटुप्पोको भेउ नपाएकी र त्यसप्रति पटक्कै चासोसमेत नभएकी मैले यसबारे थप जान्ने कोसिस पनि गरेकी थिइनँ । तर, यत्ति थाहा थियो कि त्यतिखेर विद्यालय र घरघरबाट मैजस्ता किशोर, किशोरी र बालबालिकालाई युद्धमा सामेल गराइन्थ्यो ।
जब ढिलै भए पनि मैले पल्पसा क्याफे पढेँ, उपन्यासकार नारायण वाग्लेले राजनीति शब्दलाई नै लगभग घृणा गर्ने म जस्ती पाठकको मनमा पनि कौतुहल सिर्जना गरिदिए । उनले बयान गरेको राजनीतिक दर्शन त मैले कति नै बुझेँ होला र ? तैपनि, मैले पल्पसा क्याफेबाट तत्कालीन माओवादी युद्धका सकारात्मक नकारात्मक पक्षबारे मात्र बुझ्ने मौका पाइनँ, त्यस युद्धका कारण मान्छेहरूको मनमा भरिएको डर, त्रास र उनीहरूले भोग्नुपरेका पीडा, छोराछोरीलाई युद्धमा जाँदै गरेको टुलुटुलु हेर्न विवश बाबुआमाको विवशता र आँसु तथा होनहार नेपाली युवाको रगतले मुछिएको पहाडबारे धेरै धेरै जान्ने मौका पाएँ । र, मनमा त्यस्तो नभइदिएको भए, कसैका छोराछोरी नमरिदिएको भए, अङ्गभङ्ग नभइदिएको भए वा कोही बेपत्ता नभइदिएको भए कति जाती हुँदो हो जस्तो लागिरह्यो ।
उपन्यासभित्र परिवेशलाई रोचकता दिन थुप्रै उपकथा बुनिएका छन् । उपन्यासभित्रका लाहुरे काकाको अङ्ग्रेजी बोल्ने शैली सायद सबैलाई रोचक लाग्दो हो । ती सानी नानीको ठट्यौली पाराको बोलीचाली कानमै गुन्जिरहेको छ । उपन्यासभित्रका प्रत्येक पात्र र परिवेश मस्तिष्कमा डुलिरहेका छन् । मैले उपन्यासकार वाग्लेका अन्य कुनै पनि किताब पढेकी छैनँ । पल्पसा क्याफेपछि पनि उहाँका मयूर टाइम्सलगायत केही पुस्तक सार्वजनिक भइसकेका छन् भन्ने सुनेकी छु । अब ती पुस्तक पनि पढ्नैपर्ने भएको छ ।