Menu

आदिकविका एघार छन्द


  26th February, 2016

प्रेमदास पीडित

आदिकविका एघार छन्द

एक् दिन् नारद सत्यलोक् पुगिगया, लोक्को गरूँ हित् भनी
ब्रह्मा ताहिँ थिया, पर्या चरणमा, खुसी गराया पनि ।।
यस्तो श्लोक रचेर भानु कविले आफू भने स्थापित
यो रामायणमा प्रसिद्ध हुन गो ‘शार्दूलविक्रीडित’ ।।१।।

लङ्कापुरी सकल खाक् गरि सैन्य मारी
फेरी समुद्र सहजै तरि आइ वारि ।।
यो वीर श्रेष्ठ कपिको सुबयान गर्दै
लेखे ‘वसन्ततिलका’ अति भाव भर्दै ।।२।।

तहाँ सीताराम्का चरणतलमा शिर् पनि धरी
भरत् बिन्ती गर्छन् किन रघुपते ! आज यसरी ??
भनी धेरै लेखी प्रमुदित भए आदिकविजी
गरे भाषासेवा कतिपय रची यो ‘शिखरिणी’ ।।३।।

राम् हुन् परात्मा ति कहाँ भिकारी
यस् लोकमा छन् नररूपधारी ।।
सन्देश यस्तो जनमा जनाए
यो ‘इन्द्रवज्रा’ कविता बनाए ।।४।।

अपार संसार समुद्रमाहाँ
डुब्याँ शरण् कुन् छ मलाइ यहाँ ।।
भनेर यो प्रश्न गरे मलाई
‘उपेन्द्रवज्रा’ रचना बनाई ।।५।।

फर्कन्न भैयाँ तिमि फर्कि जाऊ
पिताजीलाई पनि दोष् नलाऊ ।।
यो छन्दका श्लोक कतै कतै छन्
समाजमा यो ‘उपजाति’ भन्छन् ।।६।।

चपला अबलाहरु एक् सुरमा
गुनकेशरीको फुल ली शिरमा ।।
यसरी कविता अति थोर बने
भनुँ ‘तोटक’ छन्द नगण्य रचे ।।७।।

यसरि किन बहूतै गर्दछस् सेखि धेरै
प्रभुकन त परै राख् जोडि छ्रनस् तँ मेरै ।।
यसरी कपि कडा भै दुष्ट लङ्केशलाई
विचलितसरि पारे ‘मालिनी’ मा कराई ।।८।।

बिन्ती डिठ्ठा बिचारीसित कति गरूँ म चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैँ अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि ।।
यस्तै चाला रहेछ त्यस समय अहो ! न्याय केही नपाईं
बोलेछन् भानुभक्त व्यथित हृदयले ‘स्रग्धरा’ जम्जमाई ।।९।।

धन्य हुन् यि हनुमान् यि सरिको
कोही छैन अरू भक्त हरीको ।।
हेर यी कति महान हनूमान् हुन्
‘स्वागता’ तब त भानु फलाक्दछन् ।।१०।।

अयुत वर्ष त राज् प्रभुको भयो
सल ताप् दुनियाँहरूको गयो ।।
बहुत काव्य रचे कवि भानुले
‘द्रुतविलम्बित’ छन्द कतै मिले ।।११।।

यस्ता वार्णिक छन्द आदिकविका एघार मात्रै मिले
खोजी यो मिहिनेतले टिपिदिएँ जस्तो बुझ्यो बुद्धिले ।।
प्यारो छन्द छ भानुको बुझिलिनोस् ‘शार्दूलविक्रीडित’
यो खोज्ने कवि प्रेमदास कन ता भन्छन् सबै पीडित ।।