11th March, 2015
ममता थापा, कक्षा : ९
नेपालमा खेलकुद विकास, अवसर र चुनौती
ममता थापा, कक्षा : ९
सामान्यतः मन बहलाउन, मनोरञ्जन गर्न वा व्यायामका लागि खेल्ने वा कुद्ने कार्यलाई खेलकुद भन्ने गरिन्छ । खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउ“छ । खेलकुदले मान्छे मान्छेबिच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिस्पर्धाको भावना जगाउँछ । खेलकुदले एकातिर प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गराउँछ भने अर्कातिर आपसी भाइचाराको भाव जगाउँछ ।
नेपालमा खेलकुद विकास
राणाकालअघिको कालखण्ड नेपालको खेलकुद विकासको पाटो अँध्यारो नै देखिन्छ । त्यतिखेर राज्यले खेलकुद विकासका लागि खासै प्रयत्न गरेको देखिँदैन । टोलटोलमा विभिन्न जात्रा, पूजाआजा र चाडपर्वका अवसरमा सामान्य प्रकृतिका खेल खेल्ने गरिएको भए पनि राज्य स्तरबाट मुलुकको खेलकुद विकासका लागि त्यति ध्यान दिएको भेटिँदैन । राणाकालको अन्त्यतिर आएर बल्ल मुलुकको खेलकुद विकासका लागि केही प्रयास भए गरेका देखिन्छन् । राणाहरू एसिया र युरोपका विभिन्न देशमा पुग्न थालेपछि उनीहरूले फर्कंदा आफूसँगै उताका विभिन्न खेललाई पनि भित्र्याए । सुरु सुरुमा दरबारको चौघेराभित्रै सीमित भए पनि त्यसले मुलुकमा खेलकुदको बीजभूमि तयार ग¥यो । त्यतिखेर खेलकुदलाई धनाढ्यहरूको मन बहलाउने वा तमासा हेर्ने अवसरका रूपमा लिने गरिन्थ्यो । तैपनि त्यसले मुलुकको खेलकुद विकासको सामान्य जग भने तयार गरेकै मान्नुपर्छ ।
राणाकालमा रोपिएको खेलकुदको बीज अङ्कुरित हुन, त्यसमा हाँगा, पात पलाउन र फूल फुलेर फल लाग्न समय लाग्नु स्वाभाविकै थियो । जसले गर्दा नेपाली खेलकुदले प्रजातन्त्र प्राप्तिपश्चात् पनि खासै गति लिन सकेन । यो धिमा गतिमै अघि बढिरह्यो । तर, यसले आशा गर्न सकिने प्रशस्त सम्भावना भने देखाएकै हो । यस क्रममा राजधानीमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुनु पनि मुलुकको खेलकुद विकासका क्षेत्रमा एउटा बलियो कोसेढुङ्गा मान्न सकिन्छ । त्यसैगरी राजधानीबाहिरका विभिन्न जिल्लामा क्षेत्रीय र जिल्ला स्तरका रङ्गशाला र अन्य भौतिक पूर्वाधार निर्माण, राष्ट्रिय र क्षेत्रीय स्तरमा विभिन्न खेलकुद सङ्घहरूको स्थापना, अन्तर्राष्ट्रिय खेल जगत्सँगको सम्बद्धता र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आदिले गर्दा मुलुकको खेलकुद क्षेत्र क्रमशः विकासको बाटोमा उँभो लम्किरहेको अनुभव हुन्छ । वेला वेलामा आयोजना हुने नगर, जिल्ला, क्षेत्रीय र राष्ट्रिय स्तरका प्रतियोगिताहरूले पनि मुलुकको खेलकुदमा विकासको ढोका खोलेको अनुभव गर्न सकिन्छ ।
आन्तरिक प्रतियोगिताका अतिरिक्त अन्तर्राष्ट्रिय जगत्मा आयोजना हुने विविध खेलका विभिन्न स्तरका प्रतियोगितामा सहभागिताले पनि मुलुकको खेलुकद विकासमा केही तह इँटा थपिरहेको महसुस गर्न सकिन्छ । खासगरी ओलम्पिक खेलकुदमा निकै लामो समयदेखिको निरन्तर सहभागिताले पनि मुलुकको खेल क्षेत्रलाई उकास्न मद्दत पु¥याएको अनुभूति हुन्छ । विश्वकप फुटबल छनोट खेलमा सहभागिता, एसियाली तथा दक्षिण एसियाली खेलकुदमा भइरहेको मुलुकको सहभागितालाई हेर्दा पनि हाम्रो खेल क्षेत्र निकै माथि उक्लिसकेको अनुभव हुन्छ । त्यसैगरी नेपाली क्रिकेटले पछिल्लो समयमा जगाएको आशा झनै लोभलाग्दो छ । अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिताको निकै छोटो समयमै नेपालले टी— २० विश्वकपमा सहभागिता जनाएर आफूभन्दा निकै बलिया टिमलाई पनि कायल बनाएको घटना हामीले बिर्सिसकेका छैनौँ ।
पछिल्ला केही वर्षयता नेपाली खेलकुद क्रमशः व्यावसायिकतातर्फ लम्किरहेको भए पनि दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्स जस्ता मुलुकले भन्दा निकै अघि खेलकुदको जग बसालेको नेपालको खेलकुद स्तर अहिले यी राष्ट्रको भन्दा निकै कमजोर देखिनु पक्कै पनि चिन्ताको विषय हो, नेपाली खेलकुदकै दुर्भाग्य हो । नेपाली खेलकुदमाथि कहिले दरबारको कालो नजर प¥यो र यसले फस्टाउनुपर्ने जति फस्टाउन सकेन । कहिले राजनीतिक गिद्देदृष्टि पर्दा पनि नेपाली खेलकुद टाक्सियो ।
तर, पछिल्ला दश वर्षयता मुलुकको खेलकुदले आशातीत प्रगति गरेको छ भन्दा सायद अत्युक्ति नहोला । खेलकुदमा लागेर पनि अबका दिनमा भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भइरहेको छ । नेपाली खेलकुदकै सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्मा एक सय ५० भन्दा बढी खेलसम्बद्ध सङ्घ, संस्था आबद्ध हुनु पनि मुलुकको खेलकुद विकासको एउटा सकारात्मक पाटो हो । तर, यीमध्ये व्रिmकेट, फुटबल, गल्फ, तेक्वान्दो, कराते, सुटिङ, बास्केटबल, भलिबल, ब्याडमिन्टन, पौडी जस्ता केही खेल सङ्घ मात्र सक्रिय छन् भने बाँकी सङ्घका पदाधिकारीले यी खेल सङ्घलाई कमाइखाने भाँडो बनाइरहेका छन् ।
अवसर
पछिल्लो समय नेपाली खेल जगत् व्रmमशः व्यावसायिक बन्दै गएको अनुभव हुन थालेको छ । खेल क्षेत्रमा व्यावसायिकता वृद्धिसँगै व्यावसायिक खेलाडीहरू देखिन थालेका छन् । खेलकुदमै लागेर पनि भविष्य बन्छ भनेर विश्वास गर्न सकिने स्थिति सिर्जना हुँदै गएको छ । खेलकुदमा व्यावसायिकता वृद्धिसँगै विभिन्न खेलकुद प्रतियोगिता, खेलाडी र खेलकुद क्लबहरूको प्रायोजनमा केही व्यावसायिक घराना र उद्यमी, व्यवसायीहरू अगाडि आइरहेको पनि देखिन्छ । यसलाई अत्यन्त सकारात्मक मान्नुपर्छ । जुन जुन खेल सङ्घ सव्रिmय छन्, ती ती खेलको भविष्य उज्ज्वल देखिन्छ । खासगरी व्रिmकेट, फुटबल, गल्फ, तेक्वान्दो, कराते आदि प्रचुर सम्भावना बोकेका खेल हुन् ।
विभिन्न खेलकुदका स्टार खेलाडीलाई निजी क्षेत्रका कम्पनीहरूले प्रायोजन गर्नुका साथै, कम्पनीको ब्रान्ड एम्बेसडर बनाएर आ–आफ्नो उत्पादनको प्रचार प्रसार गराउँदा खेलाडीहरूको जीविकोपार्जन पनि सहज हुँदै गएको छ । यसका अतिरिक्त विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेलाडीहरूको सहभागिताले गर्दा मुलुकलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन पनि सहज हुने अपेक्षा गर्न सकिन्छ ।
तेक्वान्दो जस्तो व्यक्तिगत प्रदर्शनका भरमा नाम कमाउन सकिने खेल यहाँ प्रशस्त छन् । यतिखेर तेक्वान्दोका दीपक विष्ट, सङ्गिना वैद्य, करातेका दीपक श्रेष्ठ, गल्फका शिवराम श्रेष्ठ र क्रिकेटका सबैजसो खेलाडी आफ्नो उत्कृष्ट प्रदर्शनकै भरमा सफल जीवन बाँचिरहेका छन्, ‘सेलिब्रेटी’का रूपमा परिचित छन् । खेलकुदमा लागेर खानसमेत पाइन्न भन्ने सोचाइ क्रमशः अन्त्य हुँदै गएको छ ।
चुनौती
खेलकुद क्षेत्र जतिसुकै व्यावसायिक बन्दै गए पनि मुलुकमा नियमित प्रशिक्षण र खेल नहुँदा खेलाडीहरू वर्षका १२ मध्ये १० महिना त्यतिकै खाली बस्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरूमा नैराश्यको भाव उत्पन्न हुनुका साथै अन्य वैकल्पिक बाटो रोजेर खेल क्षेत्रलाई नै ‘बाई बाई’ गर्ने वा विदेश पलायन हुने सम्भावना प्रशस्त रहन्छ । खेलकुद क्षेत्रलाई राज्यले खासै राम्रो बजेट दिएको छैन । जसले गर्दा अधिकांश खेल सङ्घ र खेलाडीले बारम्बार पीडित हुनुपर्ने स्थिति छ । खेलकुद परिषद्सित आबद्ध खेल सङ्घकै चुस्त र प्रस्ट नीति देखिन्न । अधिकांश खेल सङ्घले खेलकुदका नाममा विदेश जान पाइने लोभमा काम गरिरहेका छन् । मुलुकको खेल क्षेत्रमा भ्रष्टाचार निकै मौलाएको छ । भ्रष्टाचारकै आशङ्कामा केही अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलाई पक्राउ गरेको घटना हेर्दा पनि हाम्रा खेल सङ्घहरू कसरी चलिरहेका छन्, अनुमान गर्न कठिन छैन । मुलुकको घिनलाग्दो राजनीतिको कालो छायाले खेल जगत्लाई अस्तव्यस्त बनाएको छ । सरकार फेरिएपिच्छे खेलकुदको नेतृत्व पनि परिवर्तन हुने रोग मुलुकको खेलकुद विकासमा तगारोका रूपमा रहेको बिर्सन सकिन्न ।
निष्कर्ष ः
मुलुकको खेलकुद विकासका प्रशस्त सम्भावना छन् । मुलुकको खेलकुद क्षेत्र क्रमशः व्यावसायिक पनि बन्दै गएको छ । तर, जतिसुकै सम्भावना भए पनि राजनीतिक छायामा परेको हुनाले हाम्रो खेल क्षेत्र टाक्सिएको छ । यसलाई उकास्ने दिशातर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ ।
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2024 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis