Menu

मेरो गाउँ : विकट ठाउँ


  21st June, 2018

सुवेक्षा भण्डारी, कक्षा : ८

मेरो गाउँ : विकट ठाउँ

मेरो जन्म सेती अञ्चलमा पर्ने विकट जिल्ला बाजुराको पारतला गाउँमा भएको हो । बाजुरा प्रदेश नं. ७ कै अत्यन्त विकट जिल्ला हो । हामी बाजुराबासी विभिन्न आधुनिक सेवा सुविधाबाट वञ्चित छौँ । हाम्रो जिल्लामा न त भरपर्दो यातायातको सुविधा नै छ, न यहाँ पठनपाठनका लागि राम्रा स्कुल नै छन् । हाम्रो गाउँमा पनि राम्रा स्कुल भइदिएको भए म यसरी अहिले घरदेखि निकै टाढा राजधानीमा पढ्नकै लागि आउनुपर्ने थिएन । हाम्रो गाउँ वा सिंगो जिल्लामै औषधि उपचारका लागि एउटा पनि राम्रो अस्पताल छैन । यहाँका मानिसहरु बिरामी परेमा अझै पनि धामी, झाँक्रीको झारफुकको भर पर्न बाध्य छन् । गम्भीर खालका बिरामीलाई कैयौँ दिन लगाएर टाढाका अस्पतालहरुमा उपचारका लागि लानुपर्ने बाध्यता छ । आजको सूचना प्रविधिको युगमा पनि बाजुरामा अझै टेलिफोन, माबाइल, टेलिभिजन, इन्टरनेट जस्ता साधनको पहुँच अत्यन्तै सीमित छ । 
मेरो जिल्लाका अधिकांश मानिस अशिक्षित छन् । शिक्षाको कमीका कारण उनीहरुमा अन्धविश्वासले जरा गाडेको छ । बाबुआमा अशिक्षित भएकै कारण मेरो गाउँ र सिंगो जिल्लाकै मजस्तै हजारौँ बालिकाले पढ्न पाइरहेका छैनन् । उनीहरुले आजको युग सुहाउँदो गुणस्तरीय शिक्षा त परै जाओस्, सामान्य शिक्षासमेत पाउन सकिरहेका छैनन् । यहाँका अभिभावकले छोरालाई त जसोतसो स्कुल पठाउँछन् । छोरालाई नजिकका सहर, बजार वा राजधानी काठमाडौंमै राखेर पनि पढाउँछन् । तर, छोरीचेलीलाई भने अर्काको घर जाने जात त हो नि भन्दै घरकै कामकाजमै जोताउने गरिन्छ । यहाँका छोरीचेलीले भन्दा छोराहरुले धेरै नै सुविधा पाउने गरेका छन् । यहाँको समाजमा छोरा जन्मँदा उत्सव नै मनाउने चलन छ भने छोरी जन्मे उसलाई बोझका रुपमा हेर्ने अभिभावकको कमी छैन । यहाँका अभिभावकमा पनि पुरुषका तुलनामा महिला निकै पीडित छन् । 
शिक्षाको कमी र अन्धविश्वासको प्रचुरताका कारण यहाँका छोरीचेली कलिलै उमेरमा बिहे गरेर पराई घर जान बाध्य हुने गरेका छन् । मेरै उमेरका कैयौँ साथीहरु बिहे भईकन कतिपय त आमा पनि बनिसकेका छन् । यहाँको समाजमा छाउपडी प्रथाले पनि जरो गाडेको छ । छुवाछुतको समस्या पनि यहाँ निकै छ । रोजगारीको अभावले गर्दा यहाँका अधिकांश पुरुष भारततिर कामको खोजीमा जाने गर्छन् । कतिपयचाहिँ खाडी र मलेसियातिर पनि पुगिरहेका छन् । 
संसार कहाँबाट कहाँ पुगिसक्यो । बाजुराबाट काठमाडौं आइपुग्दा मलाई नै अर्कै संसारमै आइपुगेको जस्तो लाग्छ । मेरो जिल्लाका अधिकांश गाउँमा बिजुली पुगेको छैन । ग्यास चुल्हो के हो, धेरैले सुनेकै छैनन् । यहाँ पिउने पानीको पनि राम्रो व्यवस्था छैन । म पढ्नका लागि काठमाडौं आए पनि वेलावेलामा बाजुरा जाने गरेकी छु । राजधानी काठमाडौंबाट बाजुरा पुग्दा एउटा अनौठो संसारमा पुगेजस्तो लाग्छ । कति धेरै अन्तर छ, काठमाडौं र मेरो बाजुरामा । 
बाजुरामा अभाव छ, दुःख छ, कष्ट र पीडा सबै छ । तैपनि, यहाँका मानिस हाँसेरै बाचिरहेका छन् । विशेषगरी दसैँ, तिहार, चैते दसैँ जस्ता चाडपर्वमा यहाँका मानिसको अनुहारमा हाँसोखुसी देखिन्छ । परिवारका सदस्यहरु एकै ठाउँमा जम्मा भएर रमाइलोसँग चाडपर्व मनाउने गर्छन् । हुड्के र देउडा नाचेर रमाइलो गर्नु बाजुरेलीको मुख्य विशेषता हो । 
बडिमालिका, बुढीनन्दा जस्ता मन्दिर बाजुराका चर्चित तीर्थस्थल हुन् । यी मन्दिरको पूजाआजा गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । कर्नाली नदीको यहाँ निकै ठूलो महत्व छ । खासगरी कर्नालीलाई जन्मदेखि मृत्युसम्म कुनै न कुनै रुपमा साइनो जोडिएको नदीका रुपमा सम्मानसाथ हेरिन्छ । 
आफ्नो परिवारका सदस्यहरु शिक्षित र चेतनशील भएकाले मैले त विकट बाजुराबाट देशकै राजधानीमा आएर पढ्ने मौका पाएकी छु । तर, मेरो जिल्लाका मजस्तै हजारौँ छोरीचेली अझै पनि छाउपडीको सिकार भइरहेका छन् । बाल्यावस्थामै बिहे गरेर आफ्ना रहरहरु मार्न बाध्य छन् । कलिलै उमेरमा आमा बनेर आफ्नो ज्यान नै जोखिममा पार्न विवश छन् । म, राजधानीमा पढेर भविष्यमा आफ्नै जिल्लामा फर्किएर त्यहाँका बालिका र महिलाको जीवन उत्थानमा काम गर्न चाहन्छु । त्यसका लागि मैले धेरै पढ्नु छ । त्यही सपना साकार पार्न म रातदिन केही नभनी परिश्रम गरिरहेकी छु । लक्ष्य त धेरै टाढा छ, तर हरेस नखाई अघि बढ्दा कसो सफलता हात नलाग्ला, होइन त ?