Menu

भुइँकुहिरोसित लुकामारी खेल्दै चिसोपानी हाइकिङ


  28th September, 2018

हरिशरण खनाल

भुइँकुहिरोसित लुकामारी खेल्दै चिसोपानी हाइकिङ

काठमाडौँको धुवाँ, धुलो र कोलाहलबाट मुक्ति खोज्दै बिमस्टेकले जुराएको बिदामा एकाबिहानै झन्डै ५५ जना विद्यार्थी र १० जना शिक्षकको जम्बो टोलीमा मिसिएर लागियो, शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको संगमस्थल चिसोपानीतिर । १३२५ मिटर उचाइमा रहेको काठमाडौंको सुन्दरीजल बसपार्कमा स्कुल बस छाडेर बिहान ८ बजेतिर सुरु भयो हाम्रो बर्खे हाइकिङ । दायाँतिरको गल्छीमा सुसाउँदै बगिरहेको बागमतीको सुसाहटले सबैलाई स्वागत गरिरहेको थियो । झन्डै १६ किलोमिटर टाढा २१५० मिटर उचाइमा रहेको चिसोपानी पुगेर साँझ फर्किने लक्ष्यसाथ यसअघि कहिल्यै नपुगेको गन्तव्यतिर उकालिँदै थिए पाइलाहरु । सायद त्यति धेरै विद्यार्थीको सुरक्षित यात्राको जिम्मेवारी काँधमा भएको हुनाले होला, पाइलाहरु अलि गह्रुंगा अनुभूत हुँदै थिए । 


काठमाडौंको अत्यन्त प्रदूषित, दुर्गन्धित र फोहोर बागमती देखिरहेका विद्यार्थीका लागि सुन्दरीजलदेखि उकालिँदै गर्दा भेटिने बागमती ‘अचम्मकै जिनिस’ देखिँदै थियो सायद । त्यसैले, उनीहरु वेलावेलामा निश्चिन्त हुन खोजिरहेका थिए, साँच्चै यो बागमती नै हो त भन्ने प्रश्न सोधेर । साथै, उनीहरु उकालो सुरु नहुँदै चिसोपानी पुग्न अब कतिबेर लाग्छ भनेर सोध्न थालिसकेका थिए, सायद उकालोमा खुट्टा गल्न थालिसकेको हुनाले होला । बजारबाट थोरै माथि उक्लिनासाथ सबैलाई स्यालमतीको मनोरम झरनाले स्वागत गर्यो । झरनाको बेगसँगै उडेका पानीका मसिना चिसा कणले सबैको थकान एकैछिनमा छुमन्तर बनाइदियो । सबैजना तँछाडमछाड गरेर फोटो खिच्नतिर धुरिए । एकातिर स्यालमतीको सांगीतिक छङछङ, अर्कातिर बागमतीको उर्लंदो बैँस, दुवै कम्ती सम्मोहक थिएनन् । एकातिर विद्यार्थी र शिक्षकहरु फोटो, सेल्फी र भिडियोमा रमाइरहेका थिए भने अर्कातिर हाइकिङका गाइड बिके सर र उहाँका छोरा रोहित भने बेलुका फर्किन ढिलो हुने चिन्ताले छिटो हिँडौँ, एकै ठाउँमा धेरैबेर नभुलौँ भनेर कराइरहनुभएको थियो । तर, स्यालमती र बागमतीको सौन्दर्यमा झुमिरहेकाहरुले उहाँहरुका कुरा सुने पो !


त्यहाँबाट बिस्तारै उकालिँदै जाँदा एकैछिनमा सुन्दरीजलको बाँध आइपुग्यो । यही बाँधबाट लगिएको पानीले राजधानीवासीको तिर्खा मेटिरहेको छ, वर्षौंदेखि । मेलम्चीको गफ सुन्न थालेको धेरै भए पनि त्यो अझै एकादेशकै कथा जस्तो लागिरहेको समयमा धन्न यही वागमती छ र वेलावेलामा घाँटी भिजाउनसम्म पाइएको छ, राजधानी काठमाडौं सहरमा भन्ने विचारले वागमतीप्रति नतमस्तक बनायो । बाँधलाई पछाडि छाडेर हामी बिस्तारै उकालियौँ । अलिक माथि पुगेपछि मूलखर्क पुगियो । त्यहाँबाट पछाडि फर्केर हेर्दा एकातिर काठमाडौं सहरको कङ्क्रिटको जंगल र अर्कातिर बागद्वारआसपासको शिवपुरी राष्ट्रिय निकुञ्जको मनै लोभ्याउने मनोरम प्राकृतिक जङ्गल देखिन्थ्यो । जतिजति हामी उकालिँदै थियौँ, काठमाडौं सहरको कङ्क्रिटको जङ्गल त्यति नै टाढिँदै थियो भने शिवपुरी राष्ट्रिय निकुञ्जभित्रका मनोरम प्राकृतिक छटा पाइलैपाइलामा स्वागत गर्न तँछाडमछाड गरिरहेका थिए । एकातिर आकाशलाई घुम्टो ओढाइरहेको बादलले घामको किरणलाई हामीसम्म आउनबाट रोकिरहेको थियो भने अर्कातिर उसले पानी बर्साएर हामीलाई रुझाउने हिम्मत पनि गर्न सकेको थिएन । मौसम गज्जबको थियो । साथसाथै, बिस्तारै जुकाको आक्रमण बढ्दै थियो । उसै त जुकाको नाम लिँदैमा पनि तिन बित्ता उफ्रिने केटाकेटी, झन् त्यसमाथि खुट्टामै बित्ता नापेर उक्लिरहेका जुका देख्दा के नउफ्रियून् ? निशा र रबिना तिन बित्तामात्र होइन, तिन हातै उफ्रिरहेका थिए । सुन्ने भए त चिच्याएर जुका टिप्न बाआमालाई नै बोलाउँछन् कि जस्तो हाहाकार मच्चाउँदै थिए । उनीहरूको उफ्राइ देख्दा अरू साथीहरू भने पेट मिचीमिची हाँसेर मजा लिइरहेका थिए । 
मूलखर्कको पाखाभरि कतै काँक्रा झुलिरहेका थिए, झालभरि त कतै नास्पाती लटरम्मै थिए, बोटमा । कतै लप्सी त कतै मयलका फलले पनि स्वागत गरिरहेका थिए । बाटाको दायाँबायाँ फुलेका फूलहरू त केके हुन् केके ! ‘आए पाखा वन चहुरमा फूल लाखौँ पलाई । को भन्देला सकल यिनको नाम मीठो मलाई ।’ भन्ने राष्ट्रकवि माधव घिमिरेका पङ्क्तिहरू सम्झिँदै र गुन्गुनाउँदै उकालो चढिरह्यौँ हामी, ती फूलको नाम र महत्त्व बुझ्न नसकेकोमा चुकचुकाउँदै । मूलखर्कको पातलो बस्ती पनि बिस्तारै पछि छुट्दै गएपछि आइपुग्यो शिवपुरी राष्ट्रिय निकुञ्जस्थित सेनाको चेकपोस्ट । त्यहाँ कार्यरत सैनिकले अगाडि जङ्गल बाक्लो भएकाले समूह नछुट्टीकन सँगसँगै हिँड्न सचेत गराए सबैलाई ।


अघि बढ्दै जाँदा जङ्गल साँच्चै निकै बाक्लो रहेछ, दिउँसै पनि अँध्यारोको भान हुने । बादलसितै लुकामारी खेलेजस्तो लाग्ने । एकैछिनमा वनपाखालाई नै छोप्न आइपुग्ने भुइँकुहिरोको घुम्टोभित्र त कतिपटक बेरिनुपर्यो, पर्यो । कतै खुट्टै भासिने दबदबे हिलो, कतै लेउ नै लेउको चिप्लो त कतै भेलले बगाउँदा चट्ट खात लगाएर राखिएका जस्ता देखिने सुकेका पातपतिङ्गरको चाँङ । वरिपरिका रुखमा बर्सेर चिर्बिराउँदै स्वागत गरिरहेका चराचुरुङ्गीसित जिस्किँदै उकालिँदा लामो बाटो कटिसकेको पत्तै भएन । 
२४७२ मिटरको उचाइमा रहेको बोर्लाङ भञ्ज्याङ पुग्दा साढे दशजति बजेको हुँदो हो । सबैका पेटमा बिस्तारै मुसा कुद्न थालेको हुनुपर्छ । सबै थाकेका जस्ता देखिन्थे । कोहीकोही चाहिँ साथमा लगेका स्याउका दाना कोपर्दै थिए । एकछिन भञ्ज्याङमा आराम गरेपछि बिस्तारै हामी चिसोपानीतिर ओरालिन थाल्यौँ । उकालो हिँड्दा गलेका गोडा ओरालोमा काँप्दै थिए थरथर । बाटो पनि चिप्लोचिप्लो थियो । त्यसैले, अडिँदैअडिँदै करिब डेढ घन्टाजति ओरालोओरालो बाटो झरेपछि हामी हाम्रो अन्तिम गन्तव्य चिसोपानी पुग्यौँ । नुवाकोट र सिन्धुपाल्चोकको सङ्गमस्थलमा रहेको चिसोपानी बजार दुवै जिल्लामा बाँडिएको रहेछ । ०७२ को विनाशकारी भूकम्पको मार यहाँ पनि चर्कै परेको रहेछ । अझै पनि ढलक्क ढल्केर अडिएका पक्की घरका भग्नावशेषले भूकम्पको त्यो विनाशलीलाको साक्षी बकिरहेका थिए । हामीमध्ये केहीले घरैबाट खाना लगेका थियौँ भने केहीले चाहिँ बाटैबाट त्यहाँको होटेलमा खानाको अर्डर गरेका थियौँ । खाना अर्डर गरेको होटेलचाहिँ सिन्धुपाल्चोकतिर पर्दो रहेछ । काठमाडौंबाट पैदलै नुवाकोट पनि पार गरी सिन्धुपाल्चोक पुगेर दिउँसोको खाना खाँदा साढे बाह्र भइसकेको थियो । 


चिसोपानीबाट सिजनमा गौरीशङ्कर, लाङटाङ, दोर्जेलाक्पासहित ३६ हिमशृङ्खलाको एकसाथ रसास्वादन गर्न सकिन्छ रे ! तर, हामी भने एउटै हिमाल देखिरहेका थिएनौँ । अझै यहाँबाट मेलम्ची, इन्द्रावतीलगायत नदीको दृश्य पनि देखिन्छ रे ! तर, हामी भने भुइँकुहिरोको घुम्टोभित्र बेरिइरहेका थियौँ । जसले गर्दा जता हेरे पनि भुइँकुहिरो नै भुइँकुहिरो मात्र देखिइरहेको थियो । सोही दिन काठमाडौं फर्किने योजना भएकाले त्यहाँ धेरैबेर बस्न पाइएन । झन्डै १६ किमिको दूरी पार गरिसकिएको थियो । अब काठमाडौं फर्किन पनि त्यति नै वा त्योभन्दा केही बढी नै दूरी पार गर्नु थियो । हामी फर्किंदा अर्कै र अलि घुमाउरो बाटो फर्किंदै थियौँ । तर, बाटो कति लामो छ, त्यसको कुनै अनुमानै थिएन । 


फर्किंदा मज्जाले पानी प¥यो । पानीमा अलिअलि रुझ्दै र अलिअलि छाता र बर्सादीबाट आफूलाई जोगाउँदै हामी मोटर बाटैबाटो फर्कियौँ । आधा घन्टाजति हिँडेपछि बागमती सुधार परियोजना भेटियो । चिसोपानीबाट केही दूरीमा रहेको ठुलो धाप पोखरीलाई थप विस्तार गरेर बर्खाको पानी जम्मा गरी हिउँदमा अड्कलेर बागमतीमा पठाउने उद्देश्यका साथ काम भइरहेको रहेछ । त्यसका लागि वरिपरिका रुख काटेर पोखरीको चारैतिरको जमिन मुडुलै पारिएको रहेछ । योजना पूरा हुने हो वा होइन, पूरा भए पनि कहिले हुने हो, त्यो त थाहा भएन तर कथम् पूरा भइहाल्यो भने बागमतीमा हिउँदमा पनि पानी बग्ने र नदीको प्रदूषण पनि धेरै हदसम्म नियन्त्रण हुने आशाले वनविनाश पनि राम्रै कामका लागि भएको ठानेर खुसी नै लाग्यो । पानी पनि बिस्तारै रोकिइसकेको थियो । आकाश बिस्तारै खुल्दै थियो । तर, घाम भने लागेको थिएन । 


नागबेली आकारको सडकमा बिस्तारै पाइला चाल्दाचाल्दै हामी नागमतीको किनारमा बनेको सुन्दरीजल–चिसोपानी सडकमा आइपुग्यौँ । हामीले नगरकोट–चिसोपानी सडकलाई पछाडि छाडिसकेका थियौँ । भर्खरै परेर रोकिइसकेको वर्षाका कारण रौद्र रूप धारण गरेको धमिलोे नागमती बागमतीलाई भेट्न निकै चटारिँदै थियो । नागमतीको किनारैकिनार घना जङ्गलभित्रको निकै चिप्लो बाटो हिँड्दा कतिले माछा टिपे, पत्तो भएन । बाटोमा नागमतीमा हेलिन हतारिएका पाइलैपाइलामा भेटिने ससाना खोल्साहरूमा चोपलिँदै, छ्याप्लाङछुप्लुङ गर्दै अघि बढ्दै जाँदा गोडाले त्यतै बसौँ जस्तो गर्न थालिसकेका थिए । साथमा रहेका साथीहरू र अधिकांश विद्यार्थीको हालत पनि त्यस्तै थियो । यूथिका, निशा, सोनु र दीपिका त थलै पर्छन् कि जस्ता देखिँदै थिए । निर्मला र रियाले त बिहानै बाँधबाटै हाइकिङ परित्याग गरेर घर फर्किसकेका थिए । बिहान बसपार्कमा छोडेको बस भेट्टाउन अझै कति हिँड्नुपर्ने हो, केही थाहा थिएन । त्यसैले हामी हिँडिरह्यौँ, निरन्तर ओरालो झरिरह्यौँ । ठाउँठाउँमा आराम गर्दै निरन्तर हिँडिरहँदा साँझ साढे ६ बजेतिर बसमा आइपुगेपछि बल्ल सास पलायो ।


फुर्सदले दुई दिन लगाएर गर्नुपर्ने ३२ किलोमिटर लामो पदयात्रा एकै दिनमा सिध्याएकाले थाक्न त खुबै थाकियो । तैपनि, नौलो ठाउँको यात्राको रोमाञ्चकता भने अवर्णनीय नै रह्यो । राजधानीको धुलो, धुवाँ र प्रदूषण छल्ने एउटा मज्जाको गन्तव्य रहेछ चिसोपानी । दुई दिनको समय छुट्याएर समूहमा मिलेर जाने हो भने एउटा गज्जबको गन्तव्य बन्न सक्छ चिसोपानी ।