24th December, 2019
इच्छा चन्द, कक्षा : १०
पश्चिम नेपालको सल्यानमा जन्मेकी मेरा लागि पूर्वी नेपाल रहस्यकै विषय थियो । किताबमा जानकी मन्दिर, इलामको चियाबारी, भारतको दार्जिलिङबारे पढेकी थिएँ, टेलिभिजनमा देखेकी पनि थिएँ । तर, आफैँ पुग्ने कल्पना भने गरेकी थिइनँ । यस वर्ष हाम्रो स्कुलले कक्षा १० मा पढ्ने हामीलाई जनकपुर, इलाम र दार्जिलिङ भ्रमणमा लाने सूचना दिएदेखि नै मैले भ्रमणमा सहभागी हुने अठोटसाथ परिवारबाट पनि अनुमति लिइसकेकी थिएँ ।
शैक्षिक भ्रमणको दिन बिहान पाँचै बजे स्कुलमा जम्मा भएर हामी सबै लाग्यौँ बिपी राजमार्गतिर । सायद बिहान छिटै उठेकाले होला, बस चढ्नासाथ एकैछिनमा निदाएछु । एकैपटक बिहानीको खाजाका लागि बस रोकिएपछि मात्र बिउँझिएँ ।
भोको पेटमा खाजा परेपछि बिपी राजमार्ग र आसपासको सुन्दरता हेर्दै अघि बढियो । नागबेली सडकको ओराली, उकाली, सेल्फी डाँडाको फोटो सेसन आदिले गर्दा यात्रा चौपट्टै रमाइलो भयो । छङ्गाछुर भिरमा बनेको सडक र तल बगिरहेको सुनकोसी हेर्दा निकै रमाइलो लाग्यो ।
बर्दिबासको खानापछि दिउँसो जानकी मन्दिर पुगियो । एउटा बेग्लै शैलीको विशाल मन्दिर देख्दा भित्रैदेखि जानकी माताप्रति श्रद्धा जाग्यो । मन्दिर परिसरको विद्युतीय सङ्ग्रहालय पनि घुमियो । राम र सीताबारे थप जानकारी सङ्ग्रहालयबाट प्राप्त भयो । सोही दिन झापाको बिर्तामोड पुग्नुपर्ने हुनाले हामी राम, जानकी मन्दिरको दर्शनपछि जनकपुरबाट बिदा भयौँ ।
रातको झन्डै ९ बजेतिर बिर्तामोड पुगियो । होटेल हिकोलाको कोठामा झोला बिसाएर हातमुख धोएर फ्रेस भइयो । भोक पनि लागिसकेको थियो । तल झरेर खाना खाइयो । खाना निकै मिठो थियो । सायद भोजनभन्दा भोक नै मिठो भएको पो हो कि ?
राति साथीहरूसित गफ गर्दागर्दै कतिखेर निदाइयो, पत्तै भएन । बिहान ६ बजे उठेर तयार भइयो । बिहानी खाजापछि हाम्रो यात्रा अघि बढ्यो । दोस्रो दिन इलामका चियाबगान हेर्ने कार्यक्रम थियो । बिर्तामोडस्थित होटेलबाट थोरै अघि बढ्नासाथ महेन्द्र राजमार्गको दायाँबायाँ रहेका चियाबगानले हामीलाई स्वागत गरे । जीवनमा पहिलोपटक चियाबगान प्रत्यक्ष हेर्न पाउँदा निकै रमाइलो लाग्यो । चारआलीबाट महेन्द्र राजमार्ग छाडेर इलामतिर उकालिँदै गर्दा पनि मनोरम चियाबगानले हामीलाई पछ्याइरहेका थिए ।
केही माथि पुगेपछि सानो पाथीभरा मन्दिर भेटिँदो रहेछ । मूल सडकबाट एक हजार २३ सिँढी उक्लेपछि पुगिने थुम्कोमा रहेछ मन्दिर । सबै साथी रमाइलो गर्दै, फोटो खिच्दै मन्दिर पुगियो । दर्शन गरेपछि केही फोटो खिचियो । मन्दिर हातामा पुग्दा निकै चिसो थियो । पुनः तिनै सिँढी हुँदै सडकमा झरेर हामी बढ्यौँ कन्यामतिर ।
हर्कटे बजार कटेपछि केहीबेरमै चियाबगानको मनोहारिताले हामीलाई स्वागत गरिरहेको थियो । सडकको दायाँ–बायाँ जता हेरे पनि सिनित्त पारेर मिलाइएका चियाबगान मात्र देखिन्थे । जता हे¥यो, उतै रमाइलो ! कन्याम पुगेर गाडीबाट झरेपछि हामीले विभिन्न जातजातिको वेशभूषा लगाएर पनि रमाइलो ग¥यौँ । फोटो त कति खिचियो, पत्तै भएन । छिनछिनमै चियाबारीलाई छोप्न आइपुग्ने कुहिरोसित त कति लुकामारी खेलियो, कति ! चियाबगानको भित्रभित्रसम्म पुगेर फोटो खिचियो । चियाबगान मन अघाउँजी हेरियो । तर, चियाबगान हेर्दै गर्दा देखिएको एउटा अकल्पनीय दृश्यले भने अहिलेसम्म दिगमिग लगाइरहेको छ । चियाबगानको भित्रभित्र पुग्दा जताततै मानव मलमूत्र छलेर हिँड्न हामी बाध्य भयौँ । कतिपय स्थानमा त मलमूत्र छलेर टेक्ने ठाउँ पनि पाउन मुस्किल थियो । सायद स्थानीय सरकारले सार्वजनिक शौचालय बनाउनेतर्फ चासो नदिनुको परिणाम थियो त्यो । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने चियाबगान छेउछाउमा सार्वजनिक शौचालय बनाउनुपर्छ भनेर किन स्थानीय सरकारको ध्यान पुग्न नसकेको होला ? नेपाल भ्रमण वर्ष आउँदै गर्दा दैनिक कन्याम पुग्ने हजारौँ पर्यटकले यस्तो फोहोर देख्दा कस्तो सन्देश लैजालान् ?
कन्याम छाड्न मनले मानिरहेको थिएन । तैपनि, भोक लागिरहेको हुनाले कन्याम छाडेर हामी अघि बढ्यौँ । फिक्कल पुगेर मिठो खाना खायौँ । अनि, लाग्यौँ इलामको सीमावर्ती बजार पशुपतिनगरतिर । वेलावेला हुस्सुभित्र लुक्ने पशुपतिनगर निकै चिस्सिएको थियो । होटेल पुगेपछि न्याना लुगा लगाएर नेपाल–भारत सीमातिर घुम्न निस्कियौँ । केहीबेर भारतीय भूभागमा पुगेर फर्कियौँ । साँझ खाना खाएर न्यानो सिरकभित्र घुस्यौँ । कतिखेर निदाइयो, पत्तै भएन ।
भोलिपल्ट भ्रमणको तेस्रो दिन हामी सबै दार्जिलिङतिर जाँदै थियौँ । बिहानी खाजापछि भारतीय बोलेरो होटेलमै लिन आइपुगे । हामी सबै तीनओटा बोलेरोमा बाँडिएर बस्यौँ । नेपाली सिमानामा गुरुहरूको नागरिकता देखाएर केही विवरण टिपाइसकेपछि हामी भारतीय सिमानाभित्र प्रवेश ग¥यौँ । बाक्लो हुस्सुले हाम्रो दार्जिलिङ भ्रमण अलि खल्लो बनाइदियो । तैपनि, जोरपोखरी, घुम, गुम्बा, जापानी गुम्बा, रेलवे स्टेसन, चियाबगान लगायत विभिन्न स्थानको भ्रमण गरियो । हामी बिहीबार पुगेको हुनाले सो दिन त्यहाँका चिडियाखाना र म्युजियम बन्द रहेछन् । जसले गर्दा घुम्न पाइएन । त्यसैले दिउँसोको खाना उतै खाएर हामी सबै पुनः नेपाल फर्कियौँ । सायद नेपाली भाषाका कारण होला, दार्जिलिङ पुग्दा भारत होइन, नेपालमै घुमिरहेको अनुभूति भयो । साँझ बिर्तामोड झर्ने योजना भएकाले हामी सबै पशुपतिनगर आइपुगेपछि आफ्नै बसबाट अघि बढ्यौँ । त्यस क्रममा झापाको पानीट्यांकीस्थित मेचीपुल पनि पुग्यौँ । निकै लामो पुल पार गरी भारतीय भूमिमा पुगेर हामी सबै बिर्तामोडस्थित होटेल फर्कियौँ । चौथो दिन बिहान कोसी ब्यारेज हेर्दै बाटामा सप्तरीको बरमझियामा बुढो बाजेको स्वादिलो पेडा किनेर हामी सबै काठमाडौं फर्कियौँ ।
चार दिनमा पूर्वी नेपाल जति घुमियो, त्यो अविस्मरणीय रह्यो । विशेषगरी जानकी मन्दिर, झापा र इलामका चियाबगान र बरमझियाको पेडाको स्वाद कहिल्यै नमेटिने गरी मनमा बसेका छन् ।
(नोट : चन्दको यो लेख २०७६ मङ्सिर २९ गते आइतबारको अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको साप्ताहिक बाल प्रकाशन 'अंकुर'मा प्रकाशित छ)
https://epaper.amn.media/annapurnaankur-detail/1001
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2025 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis